मकवानपुर । काठमाडौँ उपत्यकाका १५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक जित हासिल गर्दै सबै सिटमा विजय प्राप्त गरेको छ। उपत्यकाभित्र रहेका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका हुन्।
काठमाडौँका १०, ललितपुरका ३ र भक्तपुरका २ गरी कुल १५ निर्वाचन क्षेत्रमा रास्वपाले जित हात पारेको छ। २०७९ को निर्वाचनमा काठमाडौँका १० मध्ये ४ र ललितपुरका ३ मध्ये १ क्षेत्रमा जितेको रास्वपाले यसपटक आफ्नो प्रभाव विस्तार गर्दै थप १० क्षेत्रमा विजय हासिल गरी उपत्यकामा पूर्ण वर्चस्व कायम गरेको हो।
काठमाडौँ–१ बाट रञ्जु दर्शना (न्यौपाने), काठमाडौँ–२ बाट सुनिल केसी, काठमाडौँ–३ बाट राजुनाथ पाण्डे, काठमाडौँ–४ बाट पुकार बम, काठमाडौँ–५ बाट सस्मित पोखरेल, काठमाडौँ–६ बाट शिशिर खनाल, काठमाडौँ–७ बाट गणेश पराजुली, काठमाडौँ–८ बाट विराजभक्त श्रेष्ठ, काठमाडौँ–९ बाट डोलप्रसाद अर्याल र काठमाडौँ–१० बाट प्रताप विष्ट निर्वाचित भएका छन्।
त्यसैगरी भक्तपुर–१ बाट रूकेश रञ्जित र भक्तपुर–२ बाट राजीव खत्री विजयी भएका छन्। ललितपुर–१ बाट बुद्धरत्न महर्जन, ललितपुर–२ बाट जगदिश खरेल र ललितपुर–३ बाट डा। तोसिमा कार्की निर्वाचित भएका हुन्।
२०७९ को निर्वाचनमा रास्वपाबाट काठमाडौँ–२ मा सोविता गौतम, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली र काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए। यसपटक शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठले आफ्नो जित दोहोर्याएका छन् भने सोविता गौतम यसपटक चितवन–३ बाट उम्मेदवार बनेकी छन्। ललितपुर–३ मा भने डा। तोसिमा कार्कीले लगातार दोस्रोपटक जित हासिल गरेकी हुन्।
निर्वाचन परिणाम अनुसार काठमाडौँ–१ मा रञ्जु दर्शनाले १५ हजार ४५५ मत ल्याएर विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरे। काठमाडौँ–२ मा सुनिल केसीले ३४ हजार २३८ मत ल्याएर विजयी हुँदा कांग्रेसका कबिर शर्माले ८ हजार ८७४ मत पाए।
काठमाडौँ–३ मा राजुनाथ पाण्डेले १८ हजार ७५७ मत ल्याएर जित हासिल गर्दा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरे। काठमाडौँ–४ मा पुकार बमले २९ हजार २४२ मत ल्याएर विजयी हुँदा कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत पाए।
काठमाडौँ–५ मा सस्मित पोखरेलले ३० हजार ७३७ मत ल्याएर जित हात पार्दा कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत पाए। काठमाडौँ–६ मा शिशिर खनालले २७ हजार ७१९ मत ल्याएर विजयी हुँदा कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरे।
काठमाडौँ–७ मा गणेश पराजुलीले २७ हजार ८०५ मत ल्याएर जित्दा कांग्रेसका प्रमोदहरि गुरागाईंले ३ हजार ९८२ मत पाए। काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठले २४ हजार ५९२ मत ल्याएर विजयी हुँदा नेकपाका सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरे।
काठमाडौँ–९ मा डोलप्रसाद अर्यालले ३५ हजार ९३ मत ल्याएर जित हासिल गर्दा कांग्रेसकी नानुमैयाँ बास्तोलाले ५ हजार ४६० मत पाइन्। काठमाडौँ–१० मा प्रताप विष्टले ३७ हजार ४६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका हिमाल कार्कीले ८ हजार १०० मत पाए।
भक्तपुर–१ मा २०४८ सालदेखि जित्दै आएको नेपाल मजदुर किसान पार्टीको प्रभाव तोड्दै रास्वपाका रूकेश रञ्जित विजयी भए। उनले ३३ हजार ४३६ मत ल्याउँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत पाए।
भक्तपुर–२ मा राजीव खत्रीले एमालेका महेश बस्नेतलाई पराजित गरे। खत्रीले ४२ हजार ३३४ मत ल्याएर जित हासिल गर्दा बस्नेतले १० हजार ९९६ मत प्राप्त गरे।
ललितपुर–१ मा बुद्धरत्न महर्जनले नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणालाई पराजित गरे। महर्जनले २३ हजार ३७३ मत ल्याउँदा राणाले १३ हजार ५२० मत पाए।
ललितपुर–२ मा जगदिश खरेलले ३९ हजार ४९१ मत ल्याएर विजयी हुँदा कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत प्राप्त गरे। ललितपुर–३ मा डा। तोसिमा कार्कीले ४३ हजार ९६ मत ल्याएर कांग्रेसका जितेन्द्र श्रेष्ठलाई पराजित गरिन्, जसले ९ हजार ४५ मत प्राप्त गरेका थिए।
