मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोे बागमती प्रदेशस्तरीय एकता सभा मंसिर २३ गते हेटौंडामा आयोजना हुने भएको छ । विभिन्न वामपन्थी दलहरूबीच एकता भएपछि जनतामा एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले यो सभा आयोजना गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य विजय गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार हेटौंडा–४ स्थित हुप्रचौरमा हुने सभालाई पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभाअघि मंसिर २३ गते बिहान हेटौँडाका विभिन्न स्थानहरूबाट ¥याली निकालिने र उक्त र्याली हुप्रचौरमा पुगेर सभामा परिणत हुने नेता गौतमले जानकारी दिनुभयो । नेकपाले हाल सातवटै प्रदेशमा प्रदेशस्तरीय एकता सभा सञ्चालन गरिरहेको सन्दर्भमा बागमती प्रदेशको सभा हेटौँडामा हुन लागेको हो ।
नेता गौतमले देश अहिले संकटकालीन अवस्थामा रहेको टिप्पणी गर्नुहुँदै निष्पक्ष निर्वाचनबाट मात्रै मुलुकलाई सही दिशामा लैजान सकिने बताउनु भयो । उहाँले पार्टी एकतालाई सन्देशमूलक ढंगले तल्लो तहसम्म पु¥याउन यो सभा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । यसैबीच एकता प्रक्रियालाई संस्थागत गर्ने क्रममा गत मंसिर ८ गते नेकपाको मकवानपुर जिल्ला कार्यालय समेत उद्घाटन भएको छ । हेटौँडा–५ स्थित साविकको नेकपा माओवादी केन्द्रको भवनलाई नै नेपाली कम्युनिस्ट पार्टीको कार्यालय तोकिएको छ ।
गत कात्तिक २० गते नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) लगायतका वाम पार्टीहरूबीच ऐतिहासिक एकता घोषणा भएको थियो । उक्त घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिएको हो ।
