मकवानपुर। सिरहाको लहान बजार क्षेत्रमा सडक विस्तारको काम तीव्र पारिएको छ । कञ्चनपुर–कमला चार लेन सडकखण्ड विस्तारअन्तर्गत भइरहेको निर्माणलाई सहज बनाउन लहान नगरपालिकाले ‘हाइवे’ क्षेत्रमा यात्रु चढाउने र ओराल्ने निश्चित स्थान तोकेको हो।
नगरपालिकाले पूर्वतर्फ हुलाक कार्यालय नजिक र पश्चिमतर्फ मुरारका पेट्रोलपम्प अगाडि मात्र बस, म्याजिकलगायत सवारीसाधनले यात्रु चढाउनरओराल्न पाउने व्यवस्था गरेको जनाएको छ । यसका साथै, हाइवे क्षेत्रमा सञ्चालनमा रहेका पसलहरू सात दिनभित्र हटाउन सूचना जारी गरिएको छ।
बजार क्षेत्रमा लामो समयदेखि ठप्प रहेको सडक विस्तारका लागि चिनियाँ कम्पनी ‘चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ ग्रुप’ ले बुधबारदेखि पुनः काम सुरु गरेको हो । विगतमा निर्माणमा भएको ढिलासुस्तीका कारण स्थानीय व्यवसायीले पटकपटक आन्दोलन गरेपछि कामलाई निरन्तरता दिन जिल्ला उद्योग वाणिज्य सङ्घले निर्माण कम्पनी र सरोकार भएका पक्षबीच पटकपटक छलफल गरी सहजीकरण गरेको थियो।
सङ्घका अध्यक्ष प्रदीपकुमार गुप्ताले निर्माण पुनःसुरु हुनुलाई सकारात्मक रूपमा लिएको बताउँदै भने, “लामो समय निर्माण ठप्प हुँदा धुलो र धुवाँका कारण स्थानीय व्यवसायीको व्यापार, व्यवसाय धरासायी बन्दै गएको थियो। सरोकार भएका निकायसँगको निरन्तर छलफलपछि अहिले काम अगाडि बढेको छ । हाम्रो मुख्य चाहना भनेको अब निर्माण यथाशीघ्र सम्पन्न होस् भन्ने हो ।”
अहिले लहान बजारको मुख्य चोकमा ‘ओभरपास’ निर्माण भइरहेको छ । चिनियाँ कम्पनीले सन् २०२० अक्टोबर २९ देखि निर्माण सुरु गरेको थियो । सडक विस्तार आयोजनाअन्तर्गत कुल ८६ दशमलव ८२ किलोमिटर लामो सडक विस्तार गर्नुपर्ने आयोजना कार्यालयले जनाएको छ।
सम्झौताअनुसार सन् २०२३ अक्टोबरभित्र काम सक्नु पर्ने लक्ष्य रहे पनि समयमा सम्पन्न नहुँदा तीन पटक म्याद थप गरिएको छ। हाल अन्तिम समयसीमा सन् २०२६ जुनसम्म पुर्याइएको छ । सडक आयोजना कार्यालयका अनुसार हालसम्म करिब ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ।
