मकवानपुर। विराटनगरमा प्रहरीले भन्सार छली गरी ल्याइएका ११ लाख रुपैयाँभन्दा बढी मूल्यका सामानसहित दुई अटो टेम्पो बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिति २०८१ चैत २९ गते विराटनगर महानगरपालिका–६ स्थित क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याइएका सामानहरू नियन्त्रणमा लिइएको हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को २ ह ३२४५ र को २ ह ३५८९ नम्बरका दुई अटो टेम्पोमा लोड गरी ल्याइँदै गरेका सामान फेला पारेको हो।
बरामद सामानमा ठूलो परिमाणमा तयारी लत्ताकपडा तथा खाद्यान्न रहेका छन्। जसमा कुर्ता–सुरुवाल सेट, हाफ कुर्ता, पुरुष हाफ भेष्ट, लेडिज टप्स, बालबालिकाका कपडा र महिलाका मेक्सी लगायत रहेका छन्। साथै ५ बोरा (१९० केजी) हरियो मटर दाना पनि बरामद गरिएको छ।
प्रहरीका अनुसार बरामद लत्ताकपडा र मटर दानाको मूल्य करिब ८ लाख ११ हजार ५ सय ५० रुपैयाँ रहेको छ भने दुई अटो टेम्पोको मूल्य ३ लाख रुपैयाँ आँकलन गरिएको छ। कुल मूल्य ११ लाख ११ हजार ५ सय ५० रुपैयाँ बराबरको सामान बरामद भएको हो।
बरामद सामान र अटो टेम्पो आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानीमा पठाइएको प्रहरीले जनाएको छ।
