मकवानपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर–२ बाट उम्मेदवार बनेका महेश कुमार बर्तौलाले १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गर्दै मध्यवर्ती क्षेत्रका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
भूमि समस्या समाधानका लागि कानुनी सुनिश्चितता, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, न्यायोचित क्षतिपूर्ति तथा मध्यवर्ती क्षेत्रको सिमाना हेरफेरका विषयमा पहल गर्ने उनको प्रतिबद्धता छ।
पूर्वाधार विकासअन्तर्गत खानेपानी, सिँचाइ, कृषि तथा सञ्चार पूर्वाधार विस्तार, बस्ती संरक्षणका लागि तटबन्धन, सडक र पुल निर्माणलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ।
विशेषगरी रूपचन्द्र विष्ट मार्ग (मनहरी–राक्सिराङ–कैलाश–थाहा जोड्ने सडक) को निर्माण तथा स्तरोन्नतिमा पहल गरिने उनले बताएका छन्। स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापना गर्ने योजना पनि अघि सारिएको छ।
कृषि क्षेत्र सुदृढीकरणका लागि दुग्धजन्य तथा मासुजन्य उत्पादनको बजार विस्तार गर्दै ‘खोरेतमुक्त मकवानपुर’ अभियान सञ्चालन गरिने जनाइएको छ।
वन्यजन्तुबाट हुने बाली क्षतिमा न्यायोचित क्षतिपूर्ति तथा नियन्त्रणका लागि कानुनी र संरचनागत व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
सहकारी, कृषि र वन स्रोत परिचालनमार्फत रोजगारी तथा स्वरोजगार सिर्जना गर्ने योजना पनि सार्वजनिक गरिएको छ। ‘एक पालिका–एक आवासीय विद्यालय’ अवधारणाअनुसार शैक्षिक पूर्वाधार विकास, ‘पढ्दै कमाउँदै’ कार्यक्रमको नीतिगत सुनिश्चितता तथा युवा–विद्यार्थीसँग संसदीय संवाद कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
मनहरीमा मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माणमा पहल गर्ने तथा युवा उद्यम प्रवद्र्धनका लागि स्टार्टअप कर्जा सहजता र कर्जाको सीमा वृद्धि गर्न प्रयास गरिने बर्तौलाले बताएका छन्।
कानुन तथा नीति निर्माण प्रक्रियामा जनसहभागिता सुनिश्चित गर्ने, विभिन्न जाति, जनजाति, सिमान्तकृत समुदाय, महिला, दलित तथा अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र प्रवद्र्धन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
राक्सिराङ–कैलाश गाउँपालिकामा ‘समृद्धि विशेष कार्यक्रम’ सञ्चालन गर्ने, थाहा, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका समेटेर उत्तरी मकवानपुरमा पर्यटन सर्किट निर्माण गर्ने योजना पनि अघि सारिएको छ।
देशव्यापी रूपमा लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि कानुनी तथा संरचनागत सुधारसहित अभियान सञ्चालन गर्ने र स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी मकवानपुरमा उद्योगधन्दा सञ्चालनका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने उनको भनाइ छ।
बर्तौलाले समृद्ध, सुरक्षित र अवसरयुक्त मकवानपुर–२ निर्माणका लागि आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यसै क्षेत्रबाट पहिलो पटक उम्मेदवार बनेका उनले सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडा लाई ४ हजार ५२० मतान्तरले पराजित गर्दै विजय हासिल गरेका थिए।
आगामी निर्वाचनमा मकवानपुर–२ मा बर्तौला सहित २१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।
