मकवानपुर । एभिन्युज टेलिभिजनले आफ्ना मकवानपुर जिल्ला संवाददाता प्रमोद राज साहनीलाई करिब एक वर्षदेखि पारिश्रमिक भुक्तानी नगरेको आरोप लागेपछि स्वतन्त्र पत्रकार संघ मकवानपुरले कडा आपत्ति जनाएको छ।
संघले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत टेलिभिजनलाई एक महिनाभित्र सम्पूर्ण बक्यौता पारिश्रमिक भुक्तानी गर्न अल्टिमेटम दिएको हो। संघका सचिव बसन्त भण्डारीले जारी गरेको विज्ञप्ति अनुसार, पत्रकार साहनीले बारम्बार मानव संसाधन विभाग र कार्यकारी प्रमुखसँग पारिश्रमिकको लागि आग्रह गर्दा “प्रक्रियामा छ” र “केही दिनमा हुन्छ” भन्ने अस्पष्ट आश्वासन मात्र दिइँदै आएको छ।
संघका अनुसार कानुनी हक माग गरेको कारण पत्रकार साहनीलाई संस्थाको आधिकारिक सञ्चार समूहबाट हटाइएको छ, जसलाई संघले श्रम कानुनको स्पष्ट उल्लंघन र पत्रकारीय स्वतन्त्रतामाथिको आक्रमणका रूपमा व्याख्या गरेको छ।
विज्ञप्तिमा एभिन्युज टेलिभिजनले नेपालको संविधानको धारा ३४, श्रम ऐन २०७४ को दफा १०५ र श्रमजीवी पत्रकार ऐनमा उल्लेखित पत्रकारका अधिकारहरूको उल्लंघन गरेको आरोप लगाइएको छ। यी कानुनी प्रावधानहरूले पत्रकारहरूको न्यूनतम पारिश्रमिक, सेवा सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्ने व्यवस्था गरेका छन्।
संघले तोकिएको समयभित्र पारिश्रमिक भुक्तानी नभए श्रम तथा रोजगार कार्यालय, मानव अधिकार आयोग र सम्बन्धित अदालतमा औपचारिक उजुरी दर्ता गर्ने चेतावनी दिएको छ। साथै, नेपाल पत्रकार महासंघ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, श्रम तथा रोजगार कार्यालय र मानव अधिकार आयोगलाई यस घटनाको तत्काल छानबिन गरी कानुनअनुसार कारबाही गर्न अनुरोध गरिएको छ।
संघले सबै सञ्चार गृहहरूलाई श्रम ऐन र श्रमजीवी पत्रकार ऐनको पालना गर्न स्मरण गराउँदै पत्रकारहरूको श्रम अधिकार, पेशागत सम्मान र आत्मसम्मानको संरक्षण गर्न आह्वान गरेको छ। साथै, पत्रकारको श्रम अधिकार उल्लंघन गर्ने संस्थाविरुद्ध सार्वजनिक अभियान, कानुनी कारबाही र संगठित आन्दोलन सञ्चालन गर्ने चेतावनी समेत दिएको छ।
“पत्रकारिता लोकतन्त्रको स्तम्भ हो र पत्रकारको श्रम अधिकारको संरक्षण नै पत्रकार स्वतन्त्रताको संरक्षण हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस विषयमा एभिन्युज टेलिभिजनको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

