मकवानपुर । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायको गरिबीलाई सामाजिक सञ्जालमा नाटकीय रूपमा प्रस्तुत गरी दातासँग सहयोग संकलन गरिएको घटनाले विवाद सिर्जना गरेको छ ।
केही दिनअघि राक्सिराङ गाउँपालिका–८ स्थित कुनाले भन्ने स्थानमा धोती मात्र लगाएका नाङ्गा अवस्थाका चेपाङ बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गाउँपालिकाले चासो लिएको हो ।
घटनाबारे छानबिन गर्न गाउँपालिकाको कार्यपालिका बैठकले वडा नम्बर ८ का वडाअध्यक्ष युसाई प्रजाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
छानबिन समितिको प्रतिवेदन अनुसार रेखा लोप्चन लामा नामक फेसबुक पेजबाट प्रकाशन भएको भिडियोमा देखाइएको सूर्यमान प्रजा भनिएको घर वास्तविक आवास नभई बाँदर कुर्न बनाइएको ठहरो भएको पुष्टि भएको छ ।
समितिले सूर्यमान प्रजाका लागि यसअघि नै भूकम्प पुनर्निर्माण प्राधिकरणमार्फत घर निर्माण भइसकेको पनि जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ गाउँपालिकाभित्र स्थानीय सरकारसँगको समन्वयबिना हुने जुनसुकै खालको दान, सहयोगको कडा निगरानी हुने बताउनुभयो ।
