पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्न सर्वसाधारणमा कडा अपिल गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आइतबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुता र राष्ट्रिय एकता खल्बल्याउने खालका गतिविधि नगर्न सचेत गराएका हुन्।
फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्ममा कुनै पनि धर्म, जात वा समुदाय विरुद्ध घृणा फैलाउने, अफवाह सिर्जना गर्ने र अपमानजनक सामग्री प्रकाशन गर्नु कानुनविपरीत रहेको प्रशासनले स्पष्ट पारेको छ। विज्ञप्तिमा धार्मिक र सामाजिक द्वेष फैलाउने क्रियाकलापको सूक्ष्म निगरानी भइरहेको र त्यस्ता कार्यमा संलग्न जो-कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
मुलुकी अपराध संहिता २०७४ र विद्युतीय कारोबार ऐन २०६३ को प्रावधान स्मरण गराउँदै सिडिओ दाहालले धार्मिक भावनामा आघात पुर्याउने वा सार्वजनिक नैतिकता बिगार्नेलाई कैद र जरिवानाको सजाय हुने उल्लेख गरेका छन्।
समाजमा शान्ति र सहिष्णुता कायम राख्न जिम्मेवार बन्न तथा असत्य र उत्तेजक सूचना सेयर नगर्न पनि नागरिक, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरिएको छ।
