भक्तपुर । यहाँको चाँगुनारायण नगरपालिका–९ ताथलीबाट प्रहरीले एक केजी ५८८ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट ताथलीमा खटिएका प्रहरी टोलीले आज बनेपाको नालाबाट ताथली हुँदै च्यामासिंहतर्फ आउँदै गरेको बागमती प्रदेश ३-०२-०१२ प ४३६४ नंं. को मोटरसाइकललाई जाँच गर्ने क्रममा प्रहरीले चाँदीसहित सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका-१० घर भई हाल बनेपा नगरपालिका-८ पुलबजार बस्ने ३२ वर्षीय राजु स्वेतलाई पक्राउ गरेको हो ।
भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाश जवेगुले पक्राउ परेका स्वेतलाई सवारीसाधनसहित नियन्त्रणमा लिई प्रहरी वृत्त जगाती भक्तपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए ।
यसैगरी, आजै चाँगुनारायण नगरपालिका–१ स्थित सरस्वती खेलमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।
बा.८९प ६६९७ नं. को मोटरसाइकलमा सवार दुई जनालाई आठ दशमलव ५५ ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जवेगुले जानकारी दिए ।
लागुऔषधसहित पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–३ घर भई हाल सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने ३२ वर्षीय केदार कठायत र सिराहा बरियारपट्टी गाउँपालिका-२ घर भई हाल चाँगुनारायण नगरपालिका-३ बस्ने २१ वर्षीय ओमशङ्कर सिंहल रहेका छन् ।
