By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु

प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २७, शुक्रबार ११:२८

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ ।

बिस्का जात्राको पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैलखलाई क्वने र थनेका बासिन्दाले अगाडि पाँच र पछाडि चार वटा डोरी तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ । जात्राको मुख्य आकर्षण नै भैलखः तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः तमारीहुँदै क्वनेतर्फको तेखापुखुसम्म ल्याएर त्यहाँबाट फर्काएर गःहिटीमा द्योः थातेलाकेगु (भैलखःलाई ठाउँमा पुर्याएर) पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ ।

जात्रामा भैलखः तान्ने परम्परागत रुट क्वने (तल्लो टोल) तर्फ तमारी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, बंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल)तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोमारी, इनाचो, दत्तात्रयसम्म रहेको छ । जात्राको दोस्रो दिनलाई शुन्य मानिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो यसींद्योः भेलुखेलस्थित ल्यसिङखेलमा उभ्याइन्छ । यसींद्योः( लिङ्गो) उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा यसींद्योः उभ्याउने गरिन्छ ।

यसींद्योः कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । यसींद्योः उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतिक मानिन्छ । यसींद्योः उठाईसकेपछि राती नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । तलेजुमा दुमाजुको विशेष पूजा गरी जात्रा गरिन्छ ।

यसींद्योः उठाएको हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यसदिन भैलखः र भद्रकालीको रथलाई ल्यसिङखेलमा पुर्याइन्छ । यसींद्योः उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा इन्द्रायणी देवीको त्वारिवा जात्रा मनाइन्छ ।

बिस्का जात्राको पाँचौं दिन अर्थात नयाँ वर्ष बैशाख १ गते विहानैदेखि चुपिङघाट र ल्यसिङखेलमा भक्तजनहरुको भिड हुन्छ । यसदिन स्थानीय टोल टोलमा रहेका विभिन्न बाजागाजा बजाएर परम्परागत पोसाक लगाएर भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शनपुजन गरिन्छ । बेताललाई पोथी कुखुराको बली दिइन्छ । साँझ भैरवनाइकेहरुले विधिवत रुपमा पुजा गरी साँझ यसींद्योः ढालिन्छ । त्यसको लगतै भैलखः र भद्रकालीको रथलाई तानेर गाःहिटीमा पुर्याएर एक आपसमा जुधाइ संगम जात्रा मनाइन्छ । जसलाई स्थानीय भाषामा द्योः ल्वाकिगु जात्रा भनिन्छ । तलेजुमा दुमाजु देवीको जात्रा गरिन्छ ।

जात्राको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ । सातौँ दिन तचपालमा ब्रम्हायणी र महेश्वरीको जात्रा गरिन्छ । यसै दिन तालाक्वमा बटुकभैरव र ज्याठा गणेशको सिन्दूर जात्रा गरिन्छ भने खँलामा परदेशी भीमसेनको खटजात्रा मनाइन्छ । आठौँ दिनमा भक्तपुरका शक्तिशाली देवदेवीहरुलाई आ–आफ्नो द्यो छेंबाट निकाली प्राङ्गण, सतल र पाटीहरुमा राखेर पूजा गरी विभिन्न प्रसाद चढाएर द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइन्छ । यो जात्रा दिनभरि मनाइन्छ ।

जात्राको अन्तिम दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो (हात नभएको लिङ्गो) ढाल्ने जात्रा मनाइन्छ । साँझ चोछें टोलमा छुमा गणेश जात्रा मनाइन्छ । यस दिन भैलखःलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने(माथिल्लो) र क्वने(तल्लो) टोलका बासिन्दाले तानातान गरी जात्रा सम्पन्न गरिन्छ ।

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनि उल्लेख गरिएको संस्कृतिविद् एवम् इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताए । भक्तपुरको राजदरबारमा नेपालसंवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको प्रा डा श्रेष्ठले बताए । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको सङ्कल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिएको उनले भने ।

प्राडा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गर्नुभएको छ । उहाँले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको, नागनागिनीसँग जोडिएको किंदन्ती भ्रम रहेको बताए । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको हो । विश्व भैरवनाथको प्रतिक जात्राकोे चौथो दिन भेलुखेलको ल्यसिंङखेलमा उठाएको योसिंद्योःमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जर्वजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ ।

उनले भने, “नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने वि को अर्थ हो पुरानो । नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधि पुर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ । स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो रु स्यातबाट कसरी स्का हुन गयो रु यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालिन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्वकेतु, विरध्वजा लेखिएको छ । यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा र विरध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा विर भनेर भैरवको वाहान विर बेताललाई भनिएको हो । त्यस मानेमा ध्वाजा विश्वध्वाजा र विरध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो ।”

जात्रामा पहिलो र अन्तिम दिन भैलखः तान्ने क्रममा झडप हुने गरेको छ । सम्भावित झडप रोकी जात्रालाई व्यवस्थित रुपमा मनाउन दिउँसो ३ बजे भैलखः तानेर ५ बजे जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा भैलखःले किचेर मानिसको मृत्यु हुने, जात्रा हुने स्थानका घर र सार्वजनिक पाटीपेटीमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न दिउँसो जात्रा शुरु गर्ने सम्पुर्ण तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

जात्रालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणवद्धरुपमा सरोकारवालाहरुसँग छलफल गरेर विभिन्न रणनीति तयार गरेको बताउँदै प्रजिअ ढकालले यसवर्ष जात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशाकमा करिव २ हजार सुरक्षाकर्मी परिचालन गर्ने जानकारी दिए । जात्रामा उत्श्रृंखल गतिविधि गर्ने र हुलदंगा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरुपमा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्ने उनले बताए ।

भैलखःमा अनियन्त्रित तरिकाले धेरै मानिस चढ्नाले रथबाट खसेर घाईते हुनु, च्यापनु, किचेर ज्यान जाने भएकाले त्यसलाई नियन्त्रण गर्न भैलखःमा भैरव नाईके, गुथि र स्थानीय क्लवका सिमित पदाधिकारीहरु मात्र चढ्ने व्यवस्था गरिएको छ । साथै यसवर्ष रथमा बस्ने सबैले नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाएको छ ।

जात्रामा हुलदंगा गर्नेको पहिचानका लागि चोक चोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै प्रजिअ ढकालले क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि नियन्त्रणमा लिई कारबाही गरिने बताउनुभयो । जात्रामा हुलदङ्गा गरी सुरक्षा व्यवस्थामा खलल पुर्याउनेलाई पक्राउ गरी प्र्रचलिन कानुन बमोजिम कारबाही गरी विदेश जान नहुने गरी रेर्कड राखिने बताए ।

Facebook Comments Box
नेप्से परिसूचकमा १३ अङ्कको गिरावट
स्रोत नखुलेको रु २७ लाखसहित दुई पक्राउ
आयोगद्वारा पुराना खाताको रकम नयाँ खातामा सार्न निर्देशन
महाशिवरात्रि पर्व आज: शिवालयहरूमा भक्तजनको भीड
इंग्लिस प्रिमियर लिग फुटबल : आज पाँच वटा खेल हुँदै

थप समाचार

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?