मकवानपुर। नेपाल आयल निगमले खाना पकाउने ग्यासको वितरण प्रणालीलाई थप पारदर्शी बनाउनका लागि विक्रि वितरणको रेकर्ड राख्न उद्योगी र बिक्रेतालाई निर्देशन दिएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार मंगलबार उद्योगी र बिक्रेताहरूलाई बोलाएर ग्यास वितरणको रेकर्ड प्रणालीमा कडाइ गर्न निर्देशन दिइएको हो।
उनकाअनुसार, अब ग्यास उद्योगीहरूले कुन बिक्रेतालाई कति ग्यास पठाएको हो, सोको स्पष्ट रेकर्ड राख्नुपर्नेछ। यसैगरी, बिक्रेताहरूले पनि कुन उपभोक्तालाई ग्यास बिक्री गरेको हो, उनीहरूको नाम र फोन नम्बरसहितको विवरण अनिवार्य रूपमा राख्नुपर्नेछ। प्रवक्ता ठाकुरले बिक्रेताहरूले उद्योगबाट ग्यास प्राप्त गरे पनि उपभोक्तालाई छैन भन्दै लुकाउने गरेको गुनासो बढेकाले रेकर्ड राख्ने प्रणालीमा कडाइ गरिएको जानकारी दिएका छन् ।
निगमले हालको अवस्थामा होटल तथा औद्योगिक प्रयोजनभन्दा ‘घरायसी प्रयोजन’ लाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ। ग्यासको मौज्दात (स्टक) नराख्न र आवश्यकताका आधारमा मात्र वितरण गर्न पनि भनिएको छ।
