मकवानपुर। छायाङ्कनरत फिल्म ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौला भित्रिएका छन्। फिल्मको मुख्य भूमिकामध्ये एकमा अभिनय गर्ने गरी उनलाई अनुबन्ध गरिएको हो।
फिल्मको कथामा रहेका पाँच पाण्डव पात्रमध्ये एक कलाकार सागर लम्साल ‘बले’ केही समयअघि बाहिरिएपछि निर्माण युनिटले सिटौलालाई भित्र्याएको हो।
अब फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला ‘पाँच पाण्डव’का रूपमा देखिनेछन्। साथै दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र इभा गिरी लगायत कलाकारको पनि अभिनय रहनेछ।
कालीरानी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यस फिल्मका निर्देशक वसन्त निरौला हुन्। गत चैत २ गते काँकडभिट्टाबाट छायाङ्कन सुरु गरिएको फिल्मका लेखक सुशील पौडेल रहेका छन्। नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता काली रानी श्रेष्ठ हुन्।
