मकवानपुर। कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये ४ वटा निर्वाचन क्षेत्रमा हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी अगाडि देखिएको छ । सो पार्टी सुनसरी १, भोजपुर, खोटाङ र इलाम १ मा अगाडि छ ।
सो पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरीको क्षेत्र नम्बर १ मा अगाडि छन् । उनले हालसम्म ७ हजार ८१३ मत ल्याउँदा रास्वपाकी गोमा तामाङले ५ हजार ८७१ मतसहित दोस्रो स्थानमा छन् ।
यस्तै, भोजपुरमा सो पार्टीका उम्मेदवार ध्रुवराज राई ५ हजार ३६७ मतसहित अगाडि छन् । उनलाई एमालेका केन्द्रीय सचिवसमेत रहेका नेता शेरधन राईले ४ हजार २१४ मत ल्याउँदै पछ्याइरहेका छन् ।
उता, खोटाङमा पनि श्रम संस्कृति पार्टी अगाडि छ । सो पार्टीका उम्मेदवार आरेन राईले ५ हजार ७४४ मत ल्याउँदा उनलाई कांग्रेसका वीरकाजी राईले ४ हजार ९३५ मतसहित पछ्याइहेका छन् ।
त्यस्तै, इलाम १ मा पनि श्रम संस्कृति पार्टी अगाडि छ । सो पार्टीबाट उम्मेदवार बनेका विनोद नेम्बाङ लिम्बूले २ हजार ९२ मतसहित अगाडि छन् भने नेकपा एमालेका काजीमान कागते १ हजार ९५८ मतसहित दोस्रो स्थानमा छन् ।
कोशीमा रास्वपा भने झापाका ५, मोरङको ४, सुनसरीको ४ र उदयपुरको २ गरी १५ वटा निर्वाचन क्षेत्रमा अगाडि छ । सो पार्टीबाट यसअघि मोरङ ४ र ६ नम्बर क्षेत्रमा क्रमशः सन्तोष राजवंशी र रुबिना आचार्य विजयी भइसकेका छन् ।
अघिल्ला निर्वाचनहरूमा कोशी प्रदेशमा एमालेकै दबदबा रहने गरेको थियो । पछिल्लो निर्वाचन २०७९ मा पनि एमालेले १३ वटामा एमालेले जितेको थियो ।
त्यसबेला एमालेले ताप्लेजुङ, पाँचथरसहित इलामको दुई वटै निर्वाचन क्षेत्रमा क्लिन स्वीप गर्यो । झापामा २, ४ र ५ नम्बर क्षेत्रमा विजयी भयो । मोरङमा २ नम्बर निर्वाचन क्षेत्र, सुनसरीमा २ र ३ नम्बर निर्वाचन क्षेत्रमा विजयी भयो । यस्तै धनकुटा, सोलुखुम्बु निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेदवार विजयी भए । एमालेले समग्र प्रदेशमा १३ वटा निर्वाचन क्षेत्रमा विजयी बनेको थियो ।
यसअघि जितेको ताप्लेजुङमा यस पटक पनि एमालेका क्षितिज थेबे अगाडि छन् । उनलाई कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङले पछ्याइरहेका छन् । यस्तै, इलामको २ मा एमालेका सुहाङ नेम्वाङ अगाडि छन् । उनलाई श्रम संस्कृति पार्टीका सुदिप राईले पछ्याइरहेका छन् । इलाम २ पनि यसअघि एमालेले नै जितेको थियो ।
त्यस्तै, धनकुटामा एमालेका राजेन्द्र राई अगाडि छन् । उनलाई पनि श्रम संस्कृति पार्टीका सानबहादुर राईले पछ्याइरहेका छन् । राजेन्द्र राईले धनकुटामा यसअघि दुई पटक लगातार जितेका थिए ।
एमालेले यसअघि जितेका झापाका ३ सिट, मोरङको १, सुनसरीको २ सिट, भोजपुर, उदयपुर २ र पाँचथरमा गुमाउन सक्ने देखिएको छ । सङ्खुवासभाको भने प्रारम्भिक मतपरिणाम अझै आउन सकेको छैन । त्यस्तै,एमालेले यसअघि जितेको सोलुखुम्बुमा पनि यसपटक निक्कै पछि छ ।
उता,कांग्रेसले विगतमा जितेको मोरङको ३ र ६ नम्बर निर्वाचन क्षेत्र, उदयपुरको १ मा पछि परेको छ । कांग्रेस भने सोलुखुम्बु र ओखलढुङ्गामा अगाडि छ । त्यस्तै, तत्कालीन नेकपा (माओवादी) सहित धेरैवटा पार्टी मिलेर बनेको हालको नेपाली कम्युनिस्ट पार्टीले सङ्ख्यामा विगतको ३ सिट जोगाउन नसक्ने देखिएको छ ।
उता,तेह्रथुममा भने कांग्रेसले आफ्नो विरासत जोगाएको छ । त्यहाँबाट कांग्रेसका सन्तोष सुब्बा विजयी बनेका छन् । यसअघि त्यहाँबाट काँग्रेसकी सीता गुरुङ निर्वाचित बनेकी थिइन् ।
कोशी
