मकवानपुर । पाकिस्तान र अफगानिस्तानबीचको सीमा तनावले नयाँ मोड लिएको छ। पाकिस्तानले अफगान तालिबानविरुद्ध “खुला युद्ध” को घोषणा गरेसँगै क्षेत्रीय सुरक्षा अवस्थाबारे चिन्ता बढेको छ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ ले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अब धैर्यको सीमा समाप्त भएको बताएका छन्। उनले अफगानिस्तानको अन्तरिम सरकारमाथि विश्वभरका आतंकवादीलाई संरक्षण दिएको तथा “आतंकवाद निर्यात” गरेको आरोप लगाएका छन्।
उनले तालिबान प्रशासनले आफ्नै नागरिकलाई आधारभूत मानवअधिकार र महिलालाई इस्लामले प्रदान गरेका अधिकारबाट वञ्चित गरेको आरोपसमेत दोहोर्याएका छन्।
पाकिस्तानी पक्षको दाबी
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ का प्रवक्ता मुशर्रफ जैदी ले पाकिस्तानी सेनाले अफगान तालिबानका २७ सैन्य चौकी ध्वस्त पारेको र ९ चौकी नियन्त्रणमा लिएको दाबी गरेका छन्।
उनका अनुसार कारबाहीका क्रममा ८० भन्दा बढी ट्यांक, तोप तथा बख्तरबन्द सवारीसाधन नष्ट गरिएको छ। साथै, १३३ तालिबान लडाकु मारिएको र दुई सयभन्दा बढी घाइते भएको पुष्टि भएको दाबी गरिएको छ।
तालिबानको प्रतिवाद
यता अफगान तालिबान सरकारको रक्षा मन्त्रालयले भने पाकिस्तानका सबै दाबी अस्वीकार गरेको छ। तालिबान पक्षका अनुसार उनीहरूले १९ पाकिस्तानी सैन्य चौकी कब्जामा लिएका छन्।
मन्त्रालयको दाबीअनुसार झडपमा ५५ पाकिस्तानी सैनिक मारिएका छन्।
क्षेत्रीय प्रभावको संकेत
दुवै पक्षबाट परस्पर विरोधी दाबी सार्वजनिक भइरहँदा वास्तविक अवस्थाबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन। तर, पछिल्लो घटनाक्रमले दक्षिण एसियाको सुरक्षा सन्तुलनमा गम्भीर असर पार्ने संकेत देखिएको विश्लेषकहरू बताउँछन्।
यदि तनाव थप बढेमा यसले सीमावर्ती क्षेत्रको मानवीय अवस्था, व्यापारिक मार्ग तथा कूटनीतिक सम्बन्धमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
