By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

पैयु : “आफ्नै माटोको माया, जहाँ सास फेर्न पाउँदा पनि आनन्द लाग्छ”

सरोकारकर्मी
सरोकारकर्मी
f,24

निलो आकाश मुनि फैलिएको, हरियो पहाड र शीतल हावा ,प्रकृतिसँग घुलमिलिएको ,संस्कृतिले सजिएको, स्वर्गकै झल्को दिने पर्वत जिल्लाको दक्षिण भेगमा अवस्थित मेरो जन्मभूमि “पैंयू “(पैंयू गाउँपालिका)।

आहा “पैंयू “नामसँग नै यति अघात प्रेम बसेको छ कि संसारकै जुनसुकौ रमणीय स्थान पुगे पनि मन ,मस्तिष्क भरि पैंयु नै घुमिरहेको हुन्छ । “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
“आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन्।आफू जन्मेको, हुर्केको, खेलेको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने बच्चैदेखि पढ्दै आइरहेकी थिए तर उमेरसँगै आफ्नो जन्मभूमि बाट टाढिँदै गर्दा यो भनाइको तात्पर्य महसुस गरिरहेकी छु।
पैयुँ मेरो लागि केवल एक भूगोल होइन — यो मेरो आत्मासँग जोडिएको स्थान हो। जब म बिहानपख डाँडाबाट देखिने सुनौलो सूर्यको किरण हेर्छु, खोला किनारमा रमाइला बाल्यकाल सम्झन्छु, अनि गाउँको बास्ना सुँघ्दछु — तब म महसुस गर्छु, म पैयुँको छु, र पैयुँ मेरो हो।
सहरको चमकधमकभन्दा लाखौँ गुणा प्रिय लाग्छ यहाँको माटो, यहाँका मान्छे र यहाँको सादगी।

“हरिया वन जङ्गल, कलकल बगिरहेका ती निश्चल निर्मल खोलाहरू, ठाउँ ठाउँमा परम्परागत संस्कृति झल्काइरहेका मठमन्दिर, घाम लाग्दा शितल दिने ,झरी पर्दा ओत लाग्ने पार्टी पौवाहरू, कयौं बटुवाका बेदना, साथीभाइको गफ,एक अर्का बीचको मित्रता गाँसिदिने शीतल रुखका छहारीहरू सँगसँगै मेहनती, सहनशील, इमान्दार मान्छेहरू यिनै यावत कुराहरूले पैयूँ गाउँपालिकाको पहिचान, आर्थिक गतिविधि, पर्यावरणीय महत्व, तथा धार्मिक आस्था झल्काउँछन्। यिनको संरक्षण र प्रवर्द्धनले स्थानीय पर्यटन र समग्र विकासमा टेवा पुर्‍याइरहेको छ।

पूर्वमा स्याङ्जा जिल्ला ,उत्तरमा फलेबास गाउँपालिका, पश्चिममा बिहादी गाउँपालिका यिनैको बीचमा सजिएको करिब ४२.६ ५ वर्ग किलोमिटरमा फैलिएको पैंयू गाउँपालिका सातवटा वार्डमा विभाजन गरिएको छ। नेपाल ७ जात ३६ वर्णको साझा फूलबारी भनेझै हाम्रो पैंयू पनि विभिन्न जातजाति ,धर्म संस्कृति, भेषभूषा रहनसहनको समिश्रण पाइन्छ । करिब १२ ७२५ जनसङ्ख्या रहेको छ भने सबैले आफ्नो आफ्नो परम्परा, संस्कृति ,चाडपर्व, रीतिरिवाज आफ्नै तरिकाले एकअर्कासँग हातमा हात र साथमा साथ मिलाउँदै दुःखसुखका सारथी बन्दै एकमुष्ट रुपमा अघि बढिरहेको पाइन्छ।सडकहरू निर्माण, विद्यालयहरूमा स्तरोन्नति, स्वास्थ्य चौकीहरूको सुधार, कृषि प्रवर्द्धन कार्यक्रम र सरसफाइ अभियानले गाउँको मुहार बदलिएको छ। बजेटको ४५% पुँजीगत खर्चमा केन्द्रित भएको पाइन्छ, जुन सकारात्मक संकेत हो। जलस्रोत व्यवस्थापन, फोहोरमैला प्रशोधन केन्द्र, तथा आवास स्थानान्तरण योजनाहरू पनि प्रभावकारी रूपमा अघि बढाइएका छन्।

पैयुँ प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र विकासको सम्भावनाहरू समेटेको छ। २०७३ साल फागुन २७ गते साविकका टकलाक, त्रिवेणी, वेउलीबास, हुवास, सरौंखोला र भोर्ले गाविसहरू गाभेर गठन गरिएको हाल पैंयू गाउँपालिका ७ वटा वडामा विभाजित छ ।गाउँपालिकाको केन्द्रको रूपमा चिनिएको “हुवास “प्रशासनिक केन्द्रको रूपमा विकास भइरहेको छ। यहाँ विभिन्न सरकारी कार्यालयहरू अवस्थित छन्। सबै सबै वडाहरूले पैयुँ गाउँपालिकाको सामाजिक, सांस्कृतिक, र आर्थिक विविधतालाई प्रतिनिधित्व गर्छन्। प्रत्येक वडाको आफ्नै विशेषता र सम्भावना छन्, जसले समग्र गाउँपालिकाको विकासमा योगदान पुर्‍याइरहेका छन्।

मुस्ताङको लोमान्थाङ क्षेत्रबाट उत्पत्ति भएर दक्षिणतर्फ बग्दै आउने कालीगण्डकी नदी पैयुँ क्षेत्रका जीवन र जनजीवनमा अमूल्य योगदान पुर्‍याएको छ।कृषि र कृषकहरूको मुहारको चमक निहाल्दै निरन्तर आफ्नै गति, आफ्नै बेगमा दौडिरहेको छ। यस्तै सरौखोला, मर्दी खोला गेडीखोला जस्ता सयौँ ससाना खोलानालाले यहाँको जीवनशैली, कृषि, संस्कृति र धार्मिक आस्थामा गहिरो प्रभाव पारेको छ। यसको संरक्षण र उपयोगले गाउँको दिगो विकास सुनिश्चित गर्न मद्दत पुर्‍याउँछ। यस्तै प्रकृतिको अनुपम उपहारले गर्दा पैंयू जलस्रोत, खानेपानी , सिंचाइ जस्ता आधारभूत आवश्यकमा कुनै अवरोध आइपरेको छैन।

मेरो गाउँ मेरो जरा हो,मेरो पहिचान हो, जहाँ जीवनको पहिलो उज्यालो देखे , बिहानको चिसो हावा, चिडियाहरूको चिरबिर आवाज, र पाखा पखेरामा खेल्दै बितेको बालापन यी सबै मेरो मनको अमूल्य सम्पत्ति हुन। गाउँको हरियालीले मनलाई सधैं ताजा बनाउँछ। खोलाको चिसो पानी, अनि साँझपख चौतारीमा सुनिएका बुढापाकाका कथा, बाल्यकालका साथिसंगि सँगको रमाइलो जस्ता कुराहरू सहरको हल्ला र दौडधुपले कहिल्यै दिन सक्दैन। मेरो गाउँ केवल एउटा ठाउँ होइन, यो मेरो आत्मा हो। जहाँ गए पनि, गाउँको त्यो माया, त्यो शान्ति र सादगी सधैं मेरो मनभरि जीवित रहनेछ।

पैयुँ गाउँपालिका केवल मेरो जन्मथलो होइन, यो गाउँको माटोसँग मेरो अस्तित्व, भावना, र आत्मासँग गहिरो सम्बन्ध बोकेको भूमि हो। यहाँका डाँडाकाँडा, खोलानाला, खेतबारी, अनि यहिँका मान्छेहरू — सबै मेरो जीवनका अविभाज्य अङ्ग हुन्।
यो ठाउँले मलाई बचपनका मीठा सम्झनाहरू दिएको छ, संस्कार सिकाएको छ र म भोलिको लागि जे छु त्यसको जग यहीँ बनेको हो। सहरमा बसेर पनि मुटुमा गाउँकै सम्झना आइरहन्छ — किनभने पैयुँ मेरो मात्र गन्तव्य होइन, यो त मेरो पहिचानको आत्मा हो।
यस जन्मभूमिको माया, यसको माटोको गन्ध, अनि यहाँका मान्छेहरूको आत्मीयता कहिल्यै मेटिँदैन। त्यसैले म सधैं गर्वका साथ भन्छु — म पैयुँको हुँ, र पैयुँ मेरो हो।

-शिक्षा तिवारी
पर्वत

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account