By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन

सरोकारकर्मी
सरोकारकर्मी
f,7

जनकपुरधाम । संसद्भित्र अध्ययन, अनुसन्धान र बौद्धिक संस्कृतिको विकास हुनु लोकतन्त्रको गुणस्तर मापन गर्ने महत्त्वपूर्ण आधार मानिन्छ। यही सोचलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप मधेस प्रदेशसभा परिसरमा स्थापना गरिएको पुस्तकालयलाई प्रदेशको संसदीय इतिहासमा दूरगामी र स्वागतयोग्य उपलब्धिका रूपमा हेरिएको छ।

पुस्तकालय केवल पुस्तक राख्ने कोठा मात्र नभएर विचारको संगम, अनुभवको भण्डार र भविष्यका निर्णयलाई दिशा दिने ज्ञानको केन्द्र हो। प्रदेशसभामा प्रस्तुत हुने विधेयक, बजेट, सार्वजनिक नीति, विकास योजना तथा जनसरोकारका विषयमा सांसदहरूले गहन अध्ययन गरी धारणा निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्दै प्रदेशसभा सचिवालय परिसरमा यो पुस्तकालय सञ्चालनमा ल्याइएको हो। यसले सांसद, कर्मचारी, कानुन व्यवसायी, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा विद्यार्थीलाई एउटै थलोबाट आवश्यक सन्दर्भ सामग्री उपलब्ध गराउने विश्वास गरिएको छ।

असार ४ गतेदेखि सञ्चालनमा आएको यस पुस्तकालयमा नेपालको संविधान, सङ्घीय तथा प्रदेश कानुन, संसदीय कार्य सञ्चालनसम्बन्धी दस्तावेज, सार्वजनिक नीति, अर्थतन्त्र, सङ्घीयता, राजनीतिक इतिहास, समाजशास्त्र, कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा बालअधिकार, वातावरण, स्थानीय शासन, अन्तर्राष्ट्रिय सम्बन्ध र लोकतान्त्रिक अभ्याससँग सम्बन्धित पुस्तकहरू समावेश गरिएका छन्। साथै प्रदेशसभाका बैठकका कार्यवृत्त, समिति प्रतिवेदन, विधेयक, वार्षिक प्रतिवेदन तथा अन्य महत्त्वपूर्ण अभिलेखलाई क्रमशः व्यवस्थित रूपमा सङ्कलन गर्ने योजना बनाइएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले बताए।

यसले प्रदेशसभाको संस्थागत स्मृतिलाई सुरक्षित राख्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ। कोइरालाका अनुसार यो पुस्तकालयको उपयोगिता सांसदसम्म मात्र सीमित रहने छैन। प्रदेशसभा सचिवालयका कर्मचारी, विश्वविद्यालयका विद्यार्थी, नीति विश्लेषक, अनुसन्धानकर्ता तथा सञ्चारकर्मीका लागि पनि यो महत्त्वपूर्ण अध्ययन केन्द्र बन्ने अपेक्षा गरिएको छ। विशेषतः तथ्यमा आधारित समाचार, अनुसन्धान तथा विश्लेषणात्मक सामग्री तयार गर्न पुस्तकालय प्रभावकारी स्रोत बन्न सक्ने कोइरालाले जानकारी दिए।

कुनै पनि विधेयक पारित गर्नुअघि त्यसको सामाजिक, आर्थिक, कानुनी तथा प्रशासनिक प्रभावको गम्भीर अध्ययन आवश्यक हुन्छ। विकसित लोकतान्त्रिक मुलुकहरूमा सांसदहरूले पुस्तकालय र अनुसन्धान केन्द्रबाट प्राप्त तथ्य, प्रतिवेदन तथा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनपछि मात्रै संसद्मा धारणा प्रस्तुत गर्ने परम्परा स्थापित भएको छ। त्यही अभ्यासलाई मधेस प्रदेशसभामा पनि संस्थागत गर्ने दिशामा पुस्तकालय एउटा बलियो आधार बन्ने मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको भनाइ छ। पुस्तकालय सञ्चालनमा आएपछि सांसदहरूले विषयगत रूपमा तयारी गरेर तथ्यसहित बहस गर्ने वातावरण विस्तार हुनेछ।

सभामुख यादवले भने, ‘पुस्तकालयले संसद्भित्र हुने छलफललाई अझ परिपक्व, सन्तुलित र परिणाममुखी बनाउने अपेक्षा गरेका छौँ, समयको मागअनुसार पुस्तकालयलाई आधुनिक प्रविधिसँग जोड्ने योजना छ।’ पुस्तक, अभिलेख र प्रतिवेदनलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै ई–बुक, डिजिटल अभिलेख, अनलाइन खोज प्रणाली तथा इलेक्ट्रोनिक सन्दर्भ सामग्रीको व्यवस्था गर्न भविष्यमा डिजिटल पुस्तकालयको अवधारणा पूर्ण रूपमा कार्यान्वयन गर्ने योजना रहेको यादवले स्पष्ट पारे।

पुस्तकालयमा हाल ५०० भन्दा बढी पुस्तक उपलब्ध रहेको जानकारी दिँदै उनले निकट भविष्यमा ई–लाइब्रेरी सञ्चालनमा ल्याइने बताए। पुस्तकालय स्थापनाले प्रदेशसभाको संस्थागत क्षमता अभिवृद्धि हुनुका साथै अध्ययनशील, उत्तरदायी र दूरदर्शी संसदीय अभ्यासलाई थप मजबुत बनाउने उनको विश्वास छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account