By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

विदेशको ज्ञान, स्वदेशमा कमाइ

सरोकारकर्मी
सरोकारकर्मी
f,7

चितवन । दश वर्ष दुवइमा मजदुरी गरेर फर्कनुभएका टीकाबहादुर गुरुङले मायाँटारमा घरबास सुरु गरेपछि विदेश फर्कने सोच बदलेका छन् । इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा आफैँ बसेको घरबाट उनले घरबास सुरु गरेका हुन् ।

विसं १९७८ मा बनेको पुरानो शैलीको घरमा बाटो हिँड्नेहरुलाई बास दिने चलन थियो । यही बाटो हुँदै उपरदाङ्गढी, शक्तिखोर, हुग्दी खोला, इच्छाकामना मन्दिर, फिस्लिङलगायतका ठाउँमा हिँडेर जानेहरु रातमा यही बास बस्ने गर्थे । गुरुङले भने, “बाटोको घर भएकाले यही बाटो हुँदै हिँडडुल गर्नेहरुको बस्ने थलो हो यो,” उनले थपे, “हामीले पहिलेदेखिनै खान खान दिन्थ्यौँ, मान्छे सुताउँथ्यौँ ।”

दश वर्षको वैदेशिक रोजगारीपछि फर्किएका गुरुङले चार वर्षअघि यो घरलाई मर्मतसम्भार गरेर घरबासका लागि कोठा बनाए । दुवईमा होटलमा काम गरेको अनुभव लिएका उनले फेरि फर्किएर जानुभन्दा यही केही गर्ने सोच बनाए । दुवईमा मासिक रु एक लाख कमाउने गुरुङ यहाँ तीन जनालाई रोजगारी दिएर रु ८० हजार हाराहारी कमाउन थालेपछि विदेश जाने योजना स्थगित गरेर यही घरबास सञ्चालन गरिरहेका छन् ।

साथीभाइको सुझावलाई मनन गर्दै उनले आफ्नो पुरानो घरमा घरबास बनाए । उनले भने, “यही घरबाट सुरु गरेको पहिलो पिँढीमा दुईवटा कोठा र पछि दुईवटा गरेर चारवटा कोठा तयार भयो ।” यही घरमा उनको परिवार बस्थ्यो ।

जिल्लाको पहाडी भूभागमा घरबास बनेपछि त्यहाँ जानेहरुको चहलपहल बढ्न थाल्यो । गर्मीको मौसममा जानेहरु बढी हुन थाले । बिहानै घाम लाग्ने भएकाले जाडो महिनामा पनि रात बिताउन जानेहरु बढ्न थालेपछि उनले घरबास विस्तार गरेको बताए । अहिले घर बाहिर पनि कोठा बनाएका छन् । एघार वटा कोठा छन्, तीमध्ये चार वटामा सँगै शौचालय पनि छ । उनले भने, “पाहुनाको मागअनुसार विस्तार गर्दै छौँ ।”

हिजो मायाँटार सुगम जिल्ला भएर पनि कर्णालीजस्तो रहेको भन्दै उनले बाटो, बत्ती सबै भएपछि अब मायाँटार पर्यटकीय गन्तव्य बन्न सकेको बताए । दुई वर्षयता मायाँटारमा बिजुली पुगेको छ । त्यसअघि पाहुनालाई टुकी र सोलारको उज्यालोमा राख्ने गरेको उनले बताए ।

मायाँटार चिनाउन चितवनका पत्रकारको भूमिका रहेको भन्दै उनले भने, “मायाँटार मायाँटार बन्नुमा पत्रकारको ठूलो हात छ । समाचारकै कारण यहाँ बिजुली आयो र घुम्ने ठाउँ हो भन्ने प्रचार भयो ।”

मायाँटार घुम्न आउनेहरुका लागि यहाँको रमणीय वातावरणसँगै नजिकै रहेको बालगौरी पाथीभरा मन्दिर प्रमुख गन्तव्य हो । सेतो पहरा गुफा यहाँबाट १५ मिनेटको दूरीमा छ । तीन किलोमिटर पर पर्यटकीय गन्तव्य रिग्दी खोला छ, जहाँ चिसो पानीमा नुहाउन र असला माछा पाइन्छ । त्यस्तै उपरदाङ्गढी यहाँबाट नजिकै पर्छ ।

प्रचार हुँदै गएपछि पाहुनाको चाप हुन थालेको छ । एक रातमा ४० जनासम्म राख्ने क्षमता रहेको भन्दै उनले अहिले वरपर अरुले पनि घरबास बनाउन थालेको बताए । बिदाको दिनमा पहिलेनै फोनमार्फत बुकिङ हुने गरेको उनले बताए ।

आफूले स्थानीय उत्पादनका खानेकुरा पाहुनालाई खुवाउने गरेको गुरुङले बताए । त्यही उत्पादन भएको फर्सी, स्कुस, निगुरो, लोकल कुखुरा, बोका, खसीजस्ता परिकारमा पाहुना रमाउने गर्छन् ।

चितवनको तराई क्षेत्रमा अत्यधिक गर्मी हुँदा पनि त्यहाँ सिरक ओढेर सुत्नुपर्छ । यहाँ चितवनसहित काठमाडौँ, मकवानपुर, पर्सा, नवलपरासी, कास्की लगायतका धेरै जिल्लाबाट आन्तरिक पर्यटक घुम्न आउने गर्छन् ।

यो समुद्र सतहबाट करिब तीन हजार ५०० मिटर उचाइमा छ । भरतपुरबाट एक घण्टा ३० मिनेट हाराहारीको यात्रामा यहाँ पुग्न सकिन्छ । शक्तिखोर हुँदै त्यहाँ पुग्ने सडक कालोपत्रे छ । यही सडक हुँदै पृथ्वी राजमार्गको धादिङको हुग्दी खोला, धादिङ र चितवनको सिमानामा पर्ने मौवा खोला र चितवनको फिस्लिङमा पुग्न सकिन्छ । राजमार्गतर्फबाट पनि त्यति नै समयमा मायाँटार आउन सकिन्छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account