मकवानपुर । गण्डकी प्रदेशका १८ मध्ये हालसम्म ११ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ भने बाँकी ७ सिटमा मतगणना जारी छ। घोषणा भएका परिणाममध्ये अधिकांश सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ।
हालसम्मको नतिजाअनुसार रास्वपाले ८ सिट जितेको छ भने नेपाली कांग्रेसले २ सिट र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। मनाङ र मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन्। मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भएका छन्।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा जित हासिल गरेका हुन्।
रास्वपाबाट बागलुङ–१ मा सुशील खड्का, बागलुङ–२ मा सोम शर्मा, पर्वतमा सागर भुसाल, स्याङ्जा–१ मा डा. धनञ्जय रेग्मी, कास्की–१ मा खडकराज पौडेल (गणेश), कास्की–२ मा उत्तमप्रसाद पौडेल, कास्की–३ मा विना गुरुङ तथा तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले विजयी भएका छन्।
हाल मतगणना भइरहेका ७ सिटमध्ये अधिकांशमा रास्वपा अग्रस्थानमा रहेको छ भने स्याङ्जा–२ मा नेकपा (एमाले) का खिमबहादुर थापा अग्रता कायम राखेका छन्।
