By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

गौरमा कर्फ्यु यथावत, भारत–नेपाल सीमामा कडाइ

सरोकारकर्मी
सरोकारकर्मी
f,22

रौतहट ।  गौर नगरपालिका–६ सबगढामा भएको साम्प्रदायिक झडपपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालयले हिजोदेखि लागू गरेको कर्फ्यु आज पनि जारी राखेको छ। प्रशासनका अनुसार बिहान ६ः३० देखि ८ः३० बजेसम्म आंशिक रूपमा कर्फ्यु खुकुलो पारिए पनि त्यसपछि पुनः पूर्ववत् कर्फ्यु लागू गरिएको छ।

घटनापछि भारत–नेपाल सीमामा समेत सुरक्षा कडाइ गरिएको छ। सीमा क्षेत्रमा बेरियर राखेर सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। नेपालबाट भारत प्रवेश गर्दा आधार कार्ड र भारतबाट नेपाल आउँदा नेपाली नागरिकता देखाउनुपर्ने व्यवस्था लागू गरिएको प्रशासनले जनाएको छ।

सदरमुकाम गौरमा यस्ता घटना दोहोरिन नदिन विभिन्न स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति राखिएको छ।

साम्प्रदायिकता फैलाएको आरोपमा जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमसैदसहित २० जनालाई प्रशासनले नियन्त्रणमा लिएको छ। निर्वाचनको समयमा समाजमा अशान्ति फैलाउने र धार्मिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न भएको आरोपमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो। अवस्था पूर्ण रूपमा सामान्य भएपछि मात्र रिहा गरिने प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जमसैदलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराएको प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए। उनका अनुसार जमसैदसँग आवश्यक सोधपुछ भइरहेको छ र घटनामा संलग्नताबारे प्रमाणका आधारमा अनुसन्धान जारी छ। सबगढाका पूर्व वडाध्यक्षसमेत रहेका जमसैद जनमत पार्टीका जिल्ला अध्यक्ष हुन्।

यसैबीच, गौर नगरपालिका–६ का वडाध्यक्ष अबधविहारी साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। सबगढामा सुरु भएको तनाव साम्य पार्नुको सट्टा भड्काएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

बिहीबार रातिको घटनापछि शुक्रबार बिहानदेखि दिउँसोसम्म उपद्रव भएको थियो। त्यसपछि शुक्रबार अपराह्न दुवै समुदायबीच प्रशासनको उपस्थितिमा ६ बुँदे सहमति भएको थियो। तर सहमतिविपरीत शनिबार बिहानैदेखि योजनाबद्ध रूपमा तनाव बढाउने अडियो क्लिप सार्वजनिक भएपछि अवस्था पुनः उग्र बनेको बताइएको छ।

शनिबारको झडपपछि स्थिति नियन्त्रणमा लिन करिब ५०० सुरक्षाकर्मी परिचालन गरिएको थियो। रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीको नेतृत्वमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

दुई पक्षबीच ढुंगामुढा हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गर्नुका साथै ५ राउन्ड हवाई फायर र ७९ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा एक भारतीय नम्बर प्लेटको स्कार्पियो, एक ई–रिक्सा र पाँच मोटरसाइकलमा आगजनी गरिएको छ भने करिब एक दर्जन मोटरसाइकलमा क्षति पुगेको छ।

जिल्ला प्रशासन कार्यालयले आज आइतबार केहीबेरमा सर्वपक्षीय बैठक बोलाउने तयारी गरिरहेको जनाएको छ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account